बेलायतमा एक हप्तामा एक लाख ३७ हजारले पाए कोरोनाको खोप-Sutra News

बेलायतमा एक हप्तामा एक लाख ३७ हजारले पाए कोरोनाको खोप

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७

लण्डन- बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप अहिलेसम्म एक लाख ३७ हजारभन्दा बढीले लगाउन पाएका छन् । पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् ।



बेलायतमा अघिल्लो हप्ताको मंगलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै सुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका संक्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो ।

स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इग्ल्याण्डका मात्रै रहेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप दिने कार्य उत्साहजनक रूपमा अगाडि बढीरहेको बताउँदै यसलाई “राम्रो शुरुआत”को रूपमा लिन आह्वान गरेका छन् ।
बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने छ । यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ ।

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको पनि प्रधानमन्त्री जोनसनले जानकारी दिएका छन् । बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कूल झण्डै १९ लाख मानिस संक्रमित भएका छन् । विश्वभरी अहिलेसम्म सात करोड ३९ लाख ६७ हजारभन्दा बढी संक्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट