ललितपुर- मङ्गलबजारस्थित नृसिंह तथा देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार ‘महानगरपालिकाको १०२ औँ स्थापना दिवस’ का ती मन्दिर पुनःनिर्माण गरिने बताएका हुन् ।
उनले भने, ‘बालकुमारी मन्दिर पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ ।’ यसैगरी लगनखेलको ‘न्हूपुखु’ पोखरी बनाउन डेढ करोड बजेट विनियोजन भइसकेको महर्जनले जानकारी गराए ।
जनतालाई कर र नक्सा पास गर्न महानगपालिका आउनु नपरोस् भनेर अनलाइन प्रविधिमार्फत् सुविधा पुर्याउन लागिएको उनको भनाइ थियो । महानगरपालिकामा रहेका ७९ हजार घरदैलोमा ब्लक नम्बर नरहँदा घर पत्ता लगाउन कठिन भइरहेकाले सडक सञ्जालमा आधारित सो नम्बर राख्नका लागि अध्ययन गरिसकेको महर्जनले बताए । ‘हामीले वडा नं ३ का एक हजार घरमा ब्लक नम्बर वितरण गरिसक्यौँ’, उनले भने, ‘आगामी वर्ष यहाँका प्रत्येक घरमा २१ औँ शताब्दीलाई सुहाउँदो नम्बर राखिसकिनेछ ।’
त्यसैगरी महानगरपालिकलाई स्मार्ट सिटी बनाउन स्मार्ट बत्ती, साइकल लेन र हरियाली प्रवद्र्धन गर्नुपर्ने तत्व आवश्यक रहेको हुँदा यो वर्ष वाग्मती पुलबाट सातदोबाटोसम्म ६७९ स्मार्ट सडक बत्ती हाल्ने काम लगभग सकिन लागिसकेको उनको भनाइ छ । उनका अनुसार यस वर्ष मङ्गलबजारबाट ग्वार्को अनि हिमालय होटलबाट अशोक सिनेमा हलसम्म र यो आर्थिक वर्ष हरिसिद्धि, खोकना, बुङ्मती क्षेत्रमा पनि स्मार्ट बत्ती जडान गरिने छ ।
अर्कोतर्फ महानगरपालिकामा अघि बढाइएको पानी र हरियालीजन्य परियोजनाअन्तर्गत् जावलाखेलको पाँच ठाउँमा उद्यान निर्माण भइरहेको र लगनखेल अनि कुमारीपाटीको एक–एक ठाउँमा उद्यान निर्माण गरिने भएको उनको भनाइ थियो । महानगरपालिकाले अघि बढाएको हरियालीजन्य परियोजनाअन्तर्गत वाग्मती पुलबाट दायाँबायाँ हरियाली प्रवद्र्धनका विभिन्न काम भइरहेका छन् ।
महानगरपालिकाले सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखका रूपमा नियुक्त गरेसँगै फुटपाथ सफा अनि दुर्घटना कम र महानगरपालिकाको सौन्दर्य वृद्धि भइरहेको कार्यक्रममा जनाइएको थियो । यसैगरी उपप्रमुख गीता सत्यालले ललितपुर महानगरपालिका देशकै ठूलो नगरपालिका रहेको जिकिर गरिन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष सुरेन्द्रराज अवालेले पूर्वाधार निर्माणमा मुलुककै उन्नतशील नगर खडा गर्न आफूहरु दिनरात खटेको बताए ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले १९७५ मा फोहरमैला व्यवस्थापन अर्थात् पाटन सःबहालको नाममा सो स्थान परिचित रहेको अनि २००९ मा ललितपुर नगरपालिकाका नामले चिनिएर विसं २०१८ मा नगर पञ्चायत हुनपुगेको बताए । उनले भने, ‘२०४७ मा पुनः ललितपुर नगरपालिकाका हुँदै २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गतेदेखि हालसम्म ललितपुर महानगरपालिकाका नाममा परिचित भइरहेको छ ।’