प्रभु लाइफको आईपीओमा साढे १० लाख बढीको आवेदन-Sutra News

प्रभु लाइफको आईपीओमा साढे १० लाख बढीको आवेदन

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्सले निष्कासन खुला गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा  साढे १० लाख बढी लगानीकर्ताको आवेदन परेको छ ।



कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बिहीबार (आज) साँझसम्म १० लाख ५४ हजार ५ सय ४५ आवेदकबाट २ करोड ९१ लाख ३ हजार ३ सय कित्ताको सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धकले सिद्धार्थ क्यापिटलले जनाएको छ । जुन कम्पनीले निष्कासन गरेको भन्दा ४/८ गुणा बढी हो ।

कम्पनीले मंसीर २९ गतेदेखि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको थियो । ६० लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

धितोपत्रको निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आवेदन दिने सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । १० कित्ता सबैलाई नपुग्ने अवस्थामा आवेदन दिएकाहरूलाई गोलाप्रथाबाट भाग लगाउनुपर्छ ।

कम्पनीले सवर्साधारणमा ५४ लाख कित्ता सेयर बिक्री खुला गरेकाले ५ लाख ४० हजारले गोलाप्रथाबाट एक कित्ताका दरले सेयर पाउनेछन् । कम्पनीको आईपीओमा अहिले नै साढे १० लाखभन्दा बढीको आवेदन परेको र आश्वा सदस्यले आवेदन रजिस्ट्रेसन गर्ने क्रम चलिरहेको अवस्थामा आवेदन अझै बढ्न सक्नेछ । तर सबै आवेदनहरू भेरीफाई नहुने कतिपय दोहोरो आवेदन हुने सम्भावना पनि रहेकाले यसमा घटबढ हुन सक्नेछ ।

अहिलेकै आवेदनलाई आधार मान्ने हो भने पनि कम्पनीको आईपीओमा आवेदन दिएका पाँच लाखभन्दा बढी आवेदकले सेयर नपाउने देखिन्छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट