नेकपा विवाद : प्रचण्डलाई भेट्न खुमलटारमै पुगे ओली-Sutra News

नेकपा विवाद : प्रचण्डलाई भेट्न खुमलटारमै पुगे ओली

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्।



पार्टीभित्रको जारी गतिरोधका कारण पछिल्लो समय दुई अध्यक्षबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

पछिल्लो समय दाहाल र नेपाल समूहले पार्टीभित्र ओलीलाई अप्ठ्यारोमा पारेको बेलामा प्रचण्ड निवासमा नै ओली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक सरकारले ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओलीले हिजै गरेका थिए खुमलटार आउने प्रस्ताव

सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग आज भेट्न खुमलटार आउँछु भनेर हिजै भनेको नेकपाका एक नेताले जानकारी दिएका छन्।

शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान उनकै निवास गएका हुन्।

शुक्रबार साँझ ५ बजे बालुवाटारमा भएको भेटमा ओलीले आफू खुमलटार आएर चिया पिउने बताएका थिए। ओलीले प्रचण्डसँग भने, ‘म भोलि चिया पिउन खुमलटार आउछु, त्यहाँ छलफल गरौं।’

प्रचण्डले आफू पटकपटक बालुवाटार धाउन परेको संकेत गरेपछि ओलीले यस्तो भनेका थिए। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीभित्रबाट थप दबाबमा परेका छन्। उनले अध्यादेश अझै फिर्ता गरेका छैनन्। यसैबीच ओली-प्रचण्ड भेट भएको हो।

प्रचण्ड-ओली भेटअघि महासचिव पौडेल पुगेका थिए खुमलटार

प्रधानमन्त्री र कार्यकारी अध्यक्ष प्रचण्डको भेटअघि महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

पौडेलले शनिबार बिहान ८ बजे खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका हुन्। पार्टीमा जारी विवाद समाधानको लागि निरन्तर सक्रिय रहेका पौडेलले सहमति गरेर अघि बढ्न प्रचण्डले पहल लिनुपर्ने बताएको खुमलटार स्रोतले जनायो।

महासचिव पौडेलले प्रचण्डलाई दुई अध्यक्ष मिल्नुपर्ने र पार्टीमा देखिएको संकट समाधान गर्नुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण समस्या चुलिएको भन्दै प्रधानमन्त्रीले पार्टी निर्णय कार्यान्वयन गरे समस्या समाधान हुने बताएका थिए।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरेका थिए। दुवै प्रस्ताव छलफल गर्न स्थायी कमिटीमा पेश गरिएको छ।

मंसिर २१ गतेदेखि दुवै प्रतिवेदनमाथि छ्लफल शुरु भएको थियो। तर प्रधानमन्त्री ओली सो बैठकमा अनुपस्थित भएपछि एकहप्ता स्थगित गरेर मंसिर २८ गते बैठक बसेको थियो। सो बैठक भने केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव ब्यक्त गर्दै पुस १ गते बस्नेगरी स्थगित भयो।

मंसिर ३० गते प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पुस १ गते बसेको स्थायी कमिटी बैठक अध्यादेश फिर्ता गराउन केन्द्रित भयो। अब पुस ५ गते पुनः बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट