ओली-प्रचण्डबीच छलफल चलिरहेकै बेला वामदेव गौतम पनि पुगे खुमलाटार-Sutra News

ओली-प्रचण्डबीच छलफल चलिरहेकै बेला वामदेव गौतम पनि पुगे खुमलाटार

शनिबार, ४ पौस २०७७

शनिबार, ४ पौस २०७७

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा छलफल जारी छ।



प्रचण्डसँग छलफलका लागि प्रधामन्त्री ओली शनिबार बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

अध्यक्षद्वयबीच छलफल चलिरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले तीन नेताबीच छलफल भइरहेको जानकारी दिए। ‘प्रधानमन्त्री ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डबीच छटलफल चलिरहेकै बेला उपाध्यक्ष गौतम पनि आइपुग्नु भएको छ,’ थापाले भने।

त्यस्तै, प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको भेटअघि महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

पौडेलले शनिबार बिहान ८ बजे खुमलटार पुगेर प्रचण्डसँग छलफल गरेका हुन्। पार्टीमा जारी विवाद समाधानको लागि निरन्तर सक्रिय रहेका पौडेलले सहमति गरेर अघि बढ्न प्रचण्डले पहल लिनुपर्ने बताएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।

महासचिव पौडेलले प्रचण्डलाई दुई अध्यक्ष मिल्नुपर्ने र पार्टीमा देखिएको संकट समाधान गर्नुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण समस्या चुलिएको भन्दै प्रधानमन्त्रीले पार्टी निर्णय कार्यान्वयन गरे समस्या समाधान हुने बताएका थिए।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव ल्याएपछि ओलीले पनि मंसिर १३ गते आफ्नो ३८ पृष्ठ प्रस्ताव सचिवालयमा पेश गरेका थिए। दुवै प्रतिवेदनलाई छलफल गर्न स्थायी कमिटीमा पेश गरिएको छ।

मंसिर २१ गतेदेखि दुवै प्रतिवेदनमाथि छ्लफल शुरु भएको थियो। तर, प्रधानमन्त्री ओली सो बैठकमा अनुपस्थित भएपछि एकहप्ता स्थगित गरेर मंसिर २८ गते बैठक बसेको थियो। सो बैठक भने केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव व्यक्त गर्दै पुस १ गते बस्नेगरी स्थगित भएको थियो।

ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भएको थियो। सोही छलफलका क्रममा प्रधानमन्त्री ओली थप छलफलका लागि शनिबार बिहान खुमलटार आउने जानकारी दिएका दिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट