काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उपाध्यक्ष वामदेव गौतमलाई ‘भकुण्डो’ उपनामले चिनिन्छ । गत वैशाख १७ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेवलाई भकुण्डो बनाइएको प्रसंग ल्याएका थिए । त्यसयता गौतम कहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएका छन् भने कहिले प्रचण्डको कित्तामा उभिएका छन् । गौतमको स्वाभाव हेर्दा प्रचण्डले प्रयोग गरेको ‘बिम्ब’सँग मिल्न जान्छ ।
ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि प्रचण्डले गौतमलाई भकुण्डो बनाइएको प्रसंग ल्याएका हुन् । बर्दिया क्षेत्र नम्बर २ बाट हारेका गौतम प्रतिनिधिसभामा थिएनन् । संविधानमा प्रतिनिधि सभामा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री बन्न सक्ने परिकल्पना गरिएको छैन ।
गत भदौमा गौतमलाई राष्ट्रियसभामा ल्याइयो । संविधानले राष्ट्रिय सभामा भएका व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्ने परिकल्पना गरेको छैन । तर ओलीले पार्टीभित्रको समीकरण अर्को पक्षमा गएको देख्नासाथ गौतमलाई या त प्रधानमन्त्री नत्र भए पार्टीको अध्यक्ष बन्न बारम्बार प्रस्ताव गर्दै आइरहेका छन् ।
अहिलेको परिस्थितिमा गौतम न त प्रधानमन्त्री बन्न सक्छन् न त पार्टीको विधानकै आधारमा नेकपाको अध्यक्ष बन्न सक्छन् । गत शुक्रवार प्रचण्ड-नेपाल पक्षले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश १ का नेता कार्यकर्ताहरूलाई बोलाएको थियो । भेलामा प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरेका थिए । भेला सकिएपछि गौतमको सचिवालयमा रहेका पत्रकार विश्वमणि सुवेदीले फेसबूकमा लेखे, ‘पार्टीका उपाध्यक्ष गौतमले कुनै पनि भेलामा नजाने निर्णय गर्नुभएको छ ।’
प्रचण्ड-नेपाललाई दह्रो गरी साथ दिइरहेका गौतमले गरेको यस्तो निर्णयले उनी बिस्तारै ओली क्याम्पतिर जान लागेको प्रतीत हुन्छ । ओली पक्ष खुसी पनि छ । यदि आज बस्न लागेको स्थायी कमिटी बैठकअघि गौतम ओली पक्षतिर लागे भने पछिल्लो ६ महिनामा गौतम कमसेकम ३ पटक भकुण्डो बनेको ठहरिन्छ । प्रचण्ड-नेपाल पक्षबाट गौतमरुपी भकुण्डोलाई खोसेर ओलीले फेरि गोल गर्नेछन् र नेकपामा उनले आफ्नो स्कोर बढाउनेछन् । अर्थात प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले सुरक्षित राख्न चाहन्छन् ।
गौतम नेकपामा सबैभन्दा पाका उमेरका शीर्ष नेता हुन् । वरियतामा उनी पाचौं छन् । उनी पटक-पटक मन्त्री भएपनि प्रधानमन्त्री हुने अवसर पाएका छैनन् । उनका समकालीन र जुनियर सबै नेता प्रधानमन्त्री भइसके । उनलाई एकपटक देशको नेतृत्व गर्ने उत्कट चाहना छ तर त्यो ओली या प्रचण्डको ‘निगाह’ बिना सम्भव छैन भन्नेमा उनी जानकार छन् । त्यसैले उनले जसले प्रधानमन्त्री बनाइदिन्छु भन्छ त्यसको पछि लाग्ने गर्छन् ।
गौतम बलियो संगठक हुन् । तर नेकपाको ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा उनीनिकट करीब एक दर्जन मात्र नेताहरू छन् । शक्तिका हिसाबले गौतम रामबहादुर थापा ‘बादल’ भन्दा पनि कमजोर छन् । प्रचण्ड, नेपाल र ओली आफ्नो सांगठानिक शक्तिकै कारण राजनीतिको केन्द्रमा रहेका छन् । तर गौतम भने शक्ति र संगठनबिना नै राजनीतिको केन्द्रमा रहन चाहन्छन् । शक्ति आर्जन गर्ने समय उनीसँग छैन । त्यसैले उनले कहिले प्रचण्ड-नेपाल र कहिले ओलीको प्रदक्षिणा गरिरहन्छन् ।
ओलीले गरे अध्यक्षको प्रस्ताव
शनिवार अचाकन प्रचण्डनिवास खुमलटार पुगेका ओलीले प्रचण्डलाई साक्षी राखेर गौतमलाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरे । गौतमलाई आफ्नो क्याम्पतिर ल्याउन ओलीले भरमुग्दर प्रयास गरिरहेका छन् । अध्यक्षको प्रस्ताव पछिल्लो प्रयास हो ।
ओलीले प्रस्ताव गर्दा नगर्दै प्रचण्डले भने- ‘त्यसका लागि तपाईंले राजीनामा गर्नुपर्छ, तयार हुनुहुन्छ ?’ प्रचण्डको प्रश्न सुनेर ओली नाजवाफ भए । ओलीले गौतमलाई फेरि पनि उधारो चेकमै चित्त बुझाउने प्रयास गरेका थिए, प्रचण्डको प्रतिप्रश्नले ओलीलाई नाजवाफ बनायो ।
तर अस्थीर मन लिएका गौतमले हिसाबकिताब गर्न शुरू गरिसकेका छन् ।
शनिवार नै आफूनिकटका एक दर्जन जति केन्द्रीय सदस्यलाई बोलाएर यसबारेमा छलफल गरे । अधिकांशले प्रचण्ड-नेपालको सहमतिबिना अध्यक्ष बनेर केही नहुने सुझाव दिए । त्यसपछि गौतमले एकपटक प्रचण्ड र नेपालसँग यसबारेमा फाइनल कुराकानी गर्ने मूड बनाएका छन् ।
स्थायी कमिटी बैठकमा कसको के रणनीति ?
ओली र प्रचण्डबीच शनिवार भएको छलफलमा कुनै सहमति जुटेको छैन । यसको पुष्टि खुमलटार र बालुवाटारका स्रोतहरूले गरिसकेका छन् । ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरे भने प्रचण्डले ओलीलाई अध्यादेश फिर्ता लिन सुझाए । दुवै आफ्नो अडानबाट टसको मस भएनन् ।
प्रचण्डसँग कुनै सहमति हुन नसकेपछि ओली पुल्चोकस्थित मन्त्रीक्वार्टरमा छिरे । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य बादलको क्वार्टरमा छिरेर उनले केही मन्त्रीहरूसँग भेटघाट गरे । भेटघाटमा प्रचण्डसँग कुनै सहमति हुन नसकेको ब्रिफिङ गरेका थिए ।
बरू ओलीले बादललाई छुट्टै प्रतिवेदन ल्याउन आग्रह गरे । ‘मेरो र प्रचण्डको प्रतिवेदनमा भएका कमजोरीहरूसमेत उल्लेख गरेर तपाईंले प्रतिवेदन ल्याउनुस’, ओलीको भनाइ उदृत गर्दै भेटघाटमा सहभागी एक मन्त्रीले भने ।
ती मन्त्रीका अनुसार ओलीले आफ्नो प्रतिवेदन फेल हुने र प्रचण्डको प्रतिवेदन पास हुने स्थितिलाई काउन्टर गर्न छुट्टै प्रस्ताव ल्याउन बादललाई सुझाव दिएका हुन् । बादलले छुट्टै प्रस्ताव ल्याएपछि प्रचण्ड समूहका केही केन्द्रीय कमिटी सदस्यहरूले बादललाई समर्थन गर्ने र प्रचण्ड-नेपाल पक्ष कमजोर हुने ओलीको बुझाइ छ ।
छलफलमा ओली
आज अपराह्न १ बजे बस्ने भनिएको स्थायी कमिटी बैठकमा ओली जाने नजाने निश्चित छैन । प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा नजाने अडान ओलीले लिन थालेको धेरै पहिलादेखि हो । यो समाचार टिप्पणी तयार गर्दासम्म ओली बालुवाटारमा आफूनिकट नेताहरूसँग कुराकानी गरिरहेका छन् ।
बैठकमा जाने-नजाने भन्ने विषयमा ओलीपक्षीय नेताहरू बीच नै मतविभाजन रहेको अवस्था छ । एकथरीले बैठकमै उपस्थित भएर आफ्ना कुराहरू राख्नुपर्ने तर्क गरेका छन् भने अर्कोथरीले प्रचण्डले जसरी पनि प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्ने गरेका छन् ।