काठमाडौं- विवेकशील साझा पार्टीले संसद विघटनको सिफारिस राष्ट्रघाती कदम भएको जनाएको छ । आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।
‘नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन । संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ । सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन् । यो, लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई-तिहाई जनमतमाथिको निर्लज्ज घात हो र जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्ने हामीलाई विश्वास छ,’ विवेकशील साझाले विज्ञप्तिमार्फत जनाएको छ ।