कोभिडबाट विदेशमा थप ११ को मृत्यु-Sutra News

कोभिडबाट विदेशमा थप ११ को मृत्यु

आइतबार, ५ पौस २०७७

आइतबार, ५ पौस २०७७

काठमाडौं- कोभिड– १९ को संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।



गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना संक्रमणमुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो ।

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या ३१२ जनाको कोरोना संक्रमण कारणले मृत्यु भएको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमशलगायत अंग्रजी नयाँ वर्षका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ ।

क्रिसमश र नयाँ वर्षका अवसरमा मानिस ठूलो संख्यामा उपस्थित हुने तथा समारोह गर्ने भएकाले त्यसबाट संक्रमणको उच्च जोखिम रहने भएकाले त्यसो नगर्न समितिले आग्रह गरेको हो ।

महामारीको जोखिम कम नभएको र विशेषतः यूरोपेली मुलुकमा संक्रमण अस्वभाविक रुपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताए ।

यसैबीच समितिले विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको र केही नेपालीले पनि खोप लगाएकाप्रति खुसी व्यक्त गरेको छ । यद्यपि खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौं देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट