काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी छिन् ।
राष्ट्रपतीको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले आज जारी गरेको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी पहिलो चरणमा २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी तोक्नुभएको नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भएकाले सो मिति तोकिएको जनाइएको छ ।
आज बिहान भएको मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गरेका हुन् । गत २०७४ मंसिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।