काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेकोमा राष्ट्रपतिले अनुमोदन गरिदिएकोमा उनले आपत्ति जनाएका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गर्नुभयो । विद्यादेवी भण्डारी, तपाईं आजदेखि मेरो राष्ट्रपति होइन । केपी शर्मा ओलीको ग्याङको सदस्य मात्रै हो,’ नयाँ बानेश्वरमा आयोजित विरोधसभामा उनले भने, ‘संसदबाट निर्वाचित राष्ट्रपति संसदकै अपराधमा उत्रिन्छिन् भने उनी राष्ट्रपति होइन ।’
प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर अपराध गरेको उनले बताएका छन् । प्रधानमन्त्रीले गरेको गल्तीलाई सच्याउनुको सट्टा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस अनुमोदन गरिदिएर अपराधको साक्षी बसेको थापाले बताए ।