काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
प्रधानमन्त्री ओलीले हठात रूपमा संसद भंग गरेको, प्रतिनिधिसभामाथि निर्मम प्रहार गरेको, देश जनता र पार्टीलाई अन्धकारमा धकेल्ने र संविधानलाई असफल पार्ने कोसिस गरेको भन्दै सो कारबाही गर्ने प्रस्ताव गरेको प्रवक्ता श्रेष्ठले बताए ।
स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक पुस ७ गते मंगलबारका लागि बोलाएको छ । बैठकले प्रतिनिधिसभा भंग गर्ने विषयमा कानुनी उपचार खोज्ने, सोमबार सांसदहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।