काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनकको शिकार संसद् भएको बताएका छन् । राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद् भएको बताए । उनले भने, ‘हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो, जसको अहंकारको शिकार संसद् र संविधान बनेको छ ।’
प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको उनले बताए । केहीले २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधी निर्वाचन गरेको तर्क गरेको भन्दै सांसद थापाले भनेका छन्, ‘यसैगरी संसद विघटन गर्ने अवस्था नआओस्, यस्तो सन्काह बहुलठ्ठी प्रधानमन्त्रीले कुनै दिन संसद् विघटन गर्ला भनेर जोगाउने धारा लेखेका छौं ।’
संसद्ले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद् विघटनको अवस्था आउन सक्ने उनले बताए । यति स्पष्टसँग लेख्दा-लेख्दा प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको भन्दै उनले अघि भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि तपाई र मेरो राष्ट्रपति होइन, केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र हुन् ।’