कारबाही भोग्नुअघि नै अध्यादेश र नयाँ पार्टी गठनको तयारीमा ओली-Sutra News

कारबाही भोग्नुअघि नै अध्यादेश र नयाँ पार्टी गठनको तयारीमा ओली

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठममाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट कारबाही भोग्नुअघि नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नयाँ पार्टी गठनको तयारी थालेका छन् । यही तयारीस्वरूप सोमवार बिहानदेखि उनी बालुवाटारमा छलफलमा जुटेका छन् ।



९ बजेदेखि बालुवाटारमा उनले आफूपक्षीय सांसदहरूसँग छलफल गरेका छन् । भेलाका बारेमा जानकारी दिँदै एक सांसदले सूत्रन्यूजसँग भने, ‘भोलि बस्ने नेकपाको केन्द्रीय कमिटी बैठकअघि नै नयाँ पार्टी बनाएर अघि बढ्ने कि भन्ने छलफल चलिरहेको छ ।’

हिजो बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो । नेकपाको केन्द्रीय कमिटी बैठक मंगलवार बस्दैछ । केन्द्रीय कमिटीमा चरम अल्पमतमा रहेका ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी हुँदैछ । गत असारमै ओलीकै प्रत्यक्ष निर्देशनमा नेकपा एमाले दर्ता भएको थियो । सोही एमालेको पुनर्गठन हुनसक्ने स्रोतको दाबी छ ।

अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने कि एमालेमा जाने ?

ओलीसँग अहिले दुई विकल्प छन् । पहिलो अध्यादेश ल्याएर आधिकारिक रूपमै पार्टी फुटाउने र नयाँ पार्टी गठन गर्ने । केन्द्रीय कमिटीमा ओलीसँग एकतिहाइ समर्थन पनि छैन । अर्थात उनले २५ या ३० प्रतिशत सदस्य भएपनि पार्टी फुट्न सक्ने गरी अध्यादेश ल्याउनुपर्ने हुन्छ ।

त्यस्तै संसदीय दलमा पनि अल्पमतमा रहेका ओलीले संसदीय दलबाट ३० देखि ४० प्रतिशत सदस्य भए पनि हुने गरी अध्यादेश ल्याउने सम्भावना देखिन्छ । तर अध्यादेशका लागि यो समाचार टिप्पणी तयार पार्दासम्म मन्त्रिपरिषद बैठक बसेको छैन । ओलीले आफूनिकट सांसदहरूको सल्लाहपछि के गर्ने भन्ने तय गर्नेछन् ।

ओलीलाई निर्वाचन आयोगको साथ

आफूमाथि कारबाही हुनुअघि नै सबै तयारी थाल्न उनले आफूनिकट नेताहरूलाई निर्देशन दिएका छन् । हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटारमै बोलाएर उनले यसबारेमा छलफल गरेका थिए ।

निर्वाचन आयोगका पदाधिकारीहरूले अन्तिम अवस्थामा ओलीलाई साथ दिने बताइसकेका छन् । हिजोकै बैठकमा उपस्थित भएका एक आयुक्त भन्छन्, ‘उहाँले परिस्थिति जे पनि हुन सक्छ, तपाईंहरूको साथ चाहिन्छ भन्नुभएको थियो । हामीले कानूनअनुसार तपाईंलाई आवश्यक परेको सहयोग भइहाल्छ नि भन्यौं ।’

कारबाहीको भय

नेकपाका अध्यक्षसमेत रहेका ओलीले संवैधानिक प्रावधानको ख्याल नगरी हठात् संसद विघटन गर्ने निर्णय लिएपछि पार्टीले उनीमाथि आवश्यक कारबाहीको प्रक्रिया थालिसकेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘गैरसंवैधानिक, अलोकतान्त्रिक, कुत्सित मनासयका साथ गरिएको संसद विघटनका विरुद्धमा ओलीमाथि पार्टीले कारबाही गर्छ । त्यससँगै संवैधानिक र कानूनी उपचार गर्ने पार्टीको निर्णय भएको छ । यस निर्णयमा मुख्य तीन ठूला दलहरूको साथ छ ।

ओलीलाई पार्टीले आफूमाथि गर्न कारबाहीको भय देखिन्छ । यो समाचार टिप्पणी तयार पार्नेबेलासम्म नेकपा प्राविधिक रूपमा एक छ । तर, भोलिसम्म परिस्थिति अर्को बन्न सक्छ । कारबाहीअघि नै पार्टीबाट छुट्टिएर गए, या अर्को पार्टी गठन गरे ओली आफैं निस्केको सन्देश जान्छ । ओली यसैको तयारीमा देखिन्छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट