काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको बताएका छन् । पार्टी र मुलुकको राजनीतिक घटनाका विषयमा सोमबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो,’ प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी प्रचण्डले पार्टी पार्टी एकताबद्ध भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’
राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुकाविरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने नसक्ने पनि प्रचण्डले बताएका छन् ।
पार्टी विधाजनको भ्रमात्मक प्रचारमा नपर्न पनि पनि प्रचण्डले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।