काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले देश अँध्यारो सुरुङमा फसिसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा.भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन् ।
उनले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको संवैधानिक र कानुनी उपचारको झिनो आशा भए पनि भर पर्न भने नसकिने बताएका हुन् । यसको दिगो उपचार भनेको राजनीति नै भएको हुँदा संगठित, एकीकृत, सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोग हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको) आवश्यक रहेको बताएका छन् ।
‘वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरूंगमा फसिसक्याे।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दीगो उपचार राजनीतिक नै हो: १, संगठित/एकीकृत/सशक्त जनप्रतिरोध, २, प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोग; हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)।’, डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।