संसद् विघटन प्रकरणमा राष्ट्रपति चुक्नुभयो, सर्वोच्च अदालतको ध्यान पुगोस् : पूर्वराष्ट्रपति यादव-Sutra News

संसद् विघटन प्रकरणमा राष्ट्रपति चुक्नुभयो, सर्वोच्च अदालतको ध्यान पुगोस् : पूर्वराष्ट्रपति यादव

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।



सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक कदम भएको बताए । ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मलाई मर्माहत बनाएको छ, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो । उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भयो ।’ उनले भने ।

सरकारको सिफारिस र राष्ट्रपति सदर गर्ने निर्णय राजनीतिक, संवैधानिक र नैतिक रुपमा अमिल्दो रहेको उनले बताए । ‘नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिएँ, आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छ,’ पूर्वराष्ट्रपति यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् । त्यो संस्थामा चोट पुगेको छ ।’

जनताको सर्वोच्च निकाय संसदबाटै समस्याहरूको छिनोफानो गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नै पर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट