गलत प्रचार गरिएको भन्दै निवर्तमान ऊर्जामन्त्री पुनको सचिवालयले जनायो आपत्ति-Sutra News

गलत प्रचार गरिएको भन्दै निवर्तमान ऊर्जामन्त्री पुनको सचिवालयले जनायो आपत्ति

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठमाडौं- निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबारे सामाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । नेता पुनका स्वकीय सचिवसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रिनिवास छाड्ने बेलामा सरकारी सामानसमेत लगेको भनि चलाएको हल्ला गलत भएको बताउँदै आपत्ति जनाएका हुन् ।



चापागाईंले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गरेका कारण त्यसबाट डराएका केही पात्र र प्रवृत्तिले पुनकाे सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गलत प्रचार गरेको उल्लेख गरेका छन् । चापागाईंले आइतबार मन्त्री पदबाट राजीनामा दिएका पुन मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा सरकारी सामान नलगिएको स्पष्ट गरेका छन् ।

चापागाईंले त्यस्तो गलत प्रचार गर्नेहरुमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए । ‘मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध मन्त्रिपरिषदमै र बाहिरसमेत प्रतिवाद गर्नुभएको र सोही कारण उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको सर्वविदितै छ’, चापागाईंले भनेका छन्, ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरुले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु । यदि यस्तै प्रचारका गलत दुष्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरुमाथि कानूनी उपचारमा जानुपर्ने अवस्था समेत आउन सक्ने जानकारी गराउँदछु ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट