प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न निर्वाचन आयोगमा जानकारी-Sutra News

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न निर्वाचन आयोगमा जानकारी

सोमबार, ६ पौस २०७७

सोमबार, ६ पौस २०७७

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले अनुशासनको कारबाही गर्न सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ ।



नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर आइतबारको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी गराएका हुन् ।

ओलीलाई स्थायी कमिटीले कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय समितिमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हैसियत उपाध्यक्ष बराबरको भएकाले उनको नेतृत्वमा हुने भेला र बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताएका छन्।

विघटित प्रतिनिधिसभाको आफूनिकटका सांसदहरूको बालुवाटारमा आयोजित भेलामा उनले पार्टी एकताअघि हैसियत नै नभएका र आफैंले बढी हैसियत दिएर ल्याएका नेता प्रचण्डले आफूलाई कारबाही गर्ने विषय हास्यास्पद भएको बताएका हुन् ।

यद्यपि असन्तुष्ट प्रचण्ड–माधव खेमाले भने संसद विघटन भएको विषय अस्वीकार गर्ने बताउँदै आएका छन् । ‘असंवैधानिक रुपमा गरिएको संसद् विघटन अस्वीकार गर्छौं, वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘यो निर्णय असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश छ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट