काठमाडौं- राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार बसेको बैठकले संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भएको उल्लेख गर्दै समर्थन फिर्ता लिएको हो । अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको भर्त्सना गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छः ‘हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ ।’