काठमाडौं- मुख्य तीन ठूला दलको केन्द्रीय समिति बैठक आज मंगलबार बस्दैछ । नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ ।
सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन् ।
ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्दैछन् ।
कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ । जनता समाजवादीले बुधबार देशैभर प्रदर्शन गर्न लागेको छ । थप कार्यक्रमबारे आज मध्यान्ह १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट घोषणा गरिने जसपाले जनाएको छ ।