काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकले आजदेखि अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन पाउने भएका छन् । बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयमा आउने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
‘अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास भइसकेको छ,’ दाहालले भने, ‘अब जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने छ ।’ अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएकाले अब म्याद सकियो भनेर श्रम स्वीकृतिका लागि मात्रै श्रमिकले नेपाल आउनुपर्ने बाध्यतासमेत हटेको उनले बताए ।
अब वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाटै बुझाउन सक्नेछन् । महानिर्देशक दाहालका अनुसार यसका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत भुक्तानी गर्न सकिने छ ।
विभागले विभिन्न बीमा कम्पनी र पेमेन्ट गेटवेसँग यसको सम्झौतासमेत गरिसकेको छ । अब एकपटक श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकले पुनः श्रम स्वीकृति सम्बन्धित देशबाटै अनलाईन मार्फत गर्न सक्नेछन् । स्वदेश आएका श्रमिकले पनि पुनः श्रम स्वीकतिका लागि वैदेशिक रोजगार कार्यालय ताहचल धाउनु पर्दैन । अनलाइन प्रणालीमार्फत देशका जुनसुकै ठाउँबाट हुने दाहालले बताए ।