काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणापछि नेकपाभित्र उत्पन्न परिस्थितिमा ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार बाल्ुवाटारमै पुगेर ओलीलाई भेटेका हुन् ।
बादल पक्षका नेताहरूले प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने गृहमन्त्री थापाले कुनै निर्णय गरिसकेका छैनन् ।
यसअघि पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेर मंगलबार बिहान प्रचण्डले बादलसँग भेट गर्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।
हिजो मंगलबार काठमाडौंका बेग्लाबेग्लै स्थानमा ओली पक्षले र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो केन्द्रीय समितिको बैठक बसाएसँगै नेकपा औपचारिक रूपमा फुटिसकेको छ ।
दुवै पक्षले आधिकारिक नेकपा आफूहरू भएको दाबी गरेका छन् । हिजो मंगलबार प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई हटाएर माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको छ ।