प्रचण्डका ‘विश्वासपात्र’ बादल ओली क्याम्पमा, वामदेव कता ?-Sutra News

प्रचण्डका ‘विश्वासपात्र’ बादल ओली क्याम्पमा, वामदेव कता ?

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

काठमाडौं- सत्तारुढ दल नेकपामा विभाजन आए पनि सचिवालयकै दुई नेता उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा कतै खुलेका थिएनन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैले गौतम र थापालाई आआफूतिर तान्न निकै दौडधुप गरेका थिए । यद्यपि, मन्त्री थापा बुधबारदेखि प्रधानमन्त्री ओलीका पक्षमा खुलेका छन् ।



थापाले बुधबार बिहान ओलीसँगको छलफलपछि आफू उक्त समूहतिर लाग्ने निर्णय लिएका हुन् । पूर्वमाओवादी धारका थापाले यससँगै दाहालसँगको लामो राजनीतिक सहयात्रा छाडेका छन् । यसले शीर्ष नेताहरू तहमै विगतको पार्टीको धार पनि भत्किएको छ । दाहालसँग एमाले धारका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेता छन् । ओलीतिर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत पूर्वमाओवादी धारका नेता छन् ।

मन्त्री थापाले बुधबारैै आफू ओलीतिर लाग्ने निर्णयमा पुगेको निकटका नेताहरूलाई सुनाएका थिए । ओलीले उनलाई आफूपछि दोस्रो नम्बरको नेता बनाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ । उनले बुधबारै दाहालसँग खुमलटारमा भेट गरेका थिए । दिउँसो बानेश्वरमा पुनः दाहालसहितका नेतासँग छलफल गरेका थिए। तर, अन्तिममा उनले ओलीतिरै आफूलाई खुलाउने निर्णय गरेका हुन् ।

एकता गर्दा नेकपा केन्द्रीय समितिमा थापा पक्षका ३४ केन्द्रीय सदस्य थिए । त्यसमध्ये थापासहित प्रदेश ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक) र केन्द्रीय सदस्य दावा लामा दुवैतिरका भेला र बैठकमा नगई बसेका थिए । थापाले बुधबार ती तीन नेतालाई मन्त्री क्वार्टरमै बोलाएर आफू ओलीतिर खुलेको र ओलीलाई वचन दिएर आएको जनकारी गराएका थिए ।

थापालाई ओलीतिर नखुल्न उनी पक्षका नेताहरूको चर्को दबाब थियो । तर, ओलीतिरै खुलेपछि भने उनलाई तीन नेताले पनि साथ नदिने संकेत गरेका थिए । त्यसपछि थापा निवासमा बिदाइ भेट गरेर उनीहरू निस्केको स्रोतले बताएको छ ।

उपाध्यक्ष गौतम भने अझै कतै खुलेका छैनन् । उनले अझै केही दिन तटस्थताकै नीति अख्तियार गर्ने र केही दिनपछि मात्र निर्णय लिने बताइरहेका छन् । बिहीबारको दुवै पक्षको बैठकमा पनि गौतम सहभागी नहुने भएका छन् । उनले अझै निर्णय नगरिसकेको उनीनिकट नेता केशवलाल श्रेष्ठले बताए । श्रेष्ठ भने दाहाल–नेपाल खेमामा लागेका छन् ।

‘वामदेव कमरेडले अझै म सोचविचार गर्दै छु भन्नुभएको छ । बिहीबार हुने दुवै पक्षका केन्द्रीय समिति बैठकमा पनि उहाँले सहभागिता नजनाउने बताउनुभएको छ’, श्रेष्ठले भने ।

ओली पक्षले देशभरका नेता–कार्यकर्तालाई आफूतिरै तान्न, संगठित बनाउन सातै प्रदेशमा प्रशिक्षणात्मक अभियान चलाउने निर्णय गरेको छ । उसले त्यसका लागि केन्द्रीय वक्ता पनि तय गरेको छ । बिहीबार बस्ने बैठकबाट संगठन विस्तार र निर्वाचन तयारीको एजेन्डामा केन्द्रित रही छलफल हुने प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

‘प्रधानमन्त्री तथा अध्यक्षले निर्देशनात्मक प्रशिक्षण दिनुहुन्छ । सातवटै प्रदेशमा प्रशिक्षण चलाउने हुन्छ ।  संगठन विस्तार र निर्वाचनको तयारीमा जुट्ने गरी अगाडि जाने हुन्छ’, ज्ञवालीले भने । ओली पक्षले बुधबार पनि सातै प्रदेशबाट केन्द्रीय समितिमा मनोनीत नेताहरूलाई कार्यगत प्रशिक्षण राजधानीका विभिन्न पार्टी प्यालेसमा दिएको थियो ।

प्रदेश १ को भेला बत्तिसपुतली, प्रदेश २ को अनामनगर, बागमती प्रदेशको तीनकुने, गण्डकी प्रदेशको पुल्चोक, लुम्बिनी प्रदेशको नयाँ बानेश्वर, कर्णाली प्रदेशको सुकेधारा र सुदूरपश्चिम प्रदेशको कार्निभल रेस्टुरेन्टमा कार्यगत प्रशिक्षण ओली पक्षले आयोजना गरेको थियो ।

प्रदेश १ को भेलामा सुवासचन्द्र नेम्बाङ, प्रदीप ज्ञवाली, मणि थापा र डा. शिवमाया तुम्बाहाङ्फे, प्रदेश २ को भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, बागमतीमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनीमा विष्णु पौडेल, शंकर पोखरेल, मणि थापा र गोमा देवकोटाले प्रशिक्षण दिएका थिए । त्यस्तै, कर्णाली प्रदेशको भेलामा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे खटिएका थिए ।

यी भेलामा निर्वाचनको तयारीमा जुट्ने, संगठन विस्तारमा लाग्ने गरी प्रशिक्षण दिइएको थियो । पार्टीमा विभाजनको अवस्था आउनुमा दाहाल र नेपाल बढी जिम्मेवार रहेको नेताहरूले बताएका थिए । सरकारलाई घेराबन्दीमा राखेर काम गर्न नदिएको बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन भएको विषय जनतालाई बुझाएर निर्वाचनको तयारी गर्नुपर्ने नेताहरूको भनाइ थियो । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट