संगठित अपराधको बारेमा समाचार लेख्दा कोलम्बियामा पत्रकारको हत्या-Sutra News

संगठित अपराधको बारेमा समाचार लेख्दा कोलम्बियामा पत्रकारको हत्या

बिहिबार, ९ पौस २०७७

बिहिबार, ९ पौस २०७७

बोगोटा- संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ । सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।



क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो ।

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरुसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताएका छन् । मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन् ।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ । प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए ।

गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताएका थिए ।कोलम्बियाका लागि राष्ट्रसंघीय मानव अधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भत्सर्ना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट