काठमाडौं- नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरूले प्रतिनिधिसभा सुचारु गर्नुहोस् भनेर बारम्बार भनिरहँदा उल्दै विघटन गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘हामीले संसद खोल भनेको उहाँले त विघटन पो गरिदिनुभयो,’ उनले भने, ‘उहाँ सफल हुने यात्रामा हुनुहुन्न ।’
प्रधानमन्त्री ओलीले काम गर्न दिएनन् भनेर कुतर्क गरेको पनि प्रचण्डले बताएका छन् । प्रधानमन्त्रीका यस्ता कुरा आँखामा छारो हाल्ने कामसमेत भएको उनको आरोप छ । केही दिनअघि प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैका नेताबाट काम गर्न नदिएको बताएका थिए ।
त्यसैगरी प्रचण्डले ओलीले गणतन्त्र धरापमा पारेको आरोप पनि लगाएका छन् । उनले भने, ‘निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको छ । त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्रीले गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो ।’