काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।
आफूहरूबीच ४९ वर्ष लामो सहकार्य रहेको बताउँदै नेपालले प्रधानमन्त्री ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको बताए ।
प्रचण्ड नेपाल समूहले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘उहाँ गणतन्त्र विरोधी मान्छे हो, नेपालमा गणतन्त्र आउनै सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो, उहाँमा गणतन्त्रप्रति कुनै माया मोह छैन, उहाँ संघीयताविरोधी मान्छे पनि हो।’
साथै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति तानाशाही हुने गरेको बताए ।
‘केपी ओलीसँग ४९ वर्षसँगको सहकार्य हो । प्रचण्डसँग ३५ वर्षसम्मको सहकार्य हो । सहकार्य लामो छ,’ अध्यक्ष नेपालले भने ।
अध्यक्ष नेपालले ओलीमा अहंकार रहेको पनि बताए । झन् अहिले उहाँमा पदले गर्दा थप अहंकार पैदा गरेको छ उनले भने ।