काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केही समूह चोइटिएर गए पनि नेकपा जस्ताको तस्तै रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले केही चोइटिएर जाँदैमा नेकपा नफुट्ने बताए ।
‘पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिने भन्दै उनले भने, ‘अहिले संसद भंग गरेको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिन्छ । त्यसैले नेकपा फुटेको छैन, चोइटिएर जान खोजेको हो । रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र ? बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ ।’
वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओली इबी साँध्ने व्यक्ति भएको बताए । ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ,’ उनले भने ।
महाधिवेशनमा आफूले ओलीलाई हराएपछि बदला लिन खोजेको उनले बताए । नेता खनालले प्रधानमन्त्री ओलीलाई गोमन सापसँग तुलना गर्दै भने, ‘गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गर्छ ।’