ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेकपामा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताएका छन् ।
ललितपुर क्षेत्र नं १ मा आज आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुबै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुने बताए । ‘यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो । हामी मिलेर पार्टी एकताको पहल गरौं’, प्रचण्ड–नेपाल समूहतर्फ इंकित गर्दै उनले भने, ‘अन्तर विरोधको हलतिर लागौँ । हामी तपाईहरुलाई अझै साथ दिन तयार छौं । यदी हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानु बाहेक अन्य विकल्प रहेको छैन ।’
मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिधाउन खाजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए । उनले भने, ‘आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिस गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।’
नेकपाका केन्द्रीय सदस्य सुशिला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको बिवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे ।
नेकपाका केन्द्रीय सदस्यहरु नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा र मधुसुदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे ।