भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ८७ हजारभन्दा बढी-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ८७ हजारभन्दा बढी

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

भारत- भारतमा कोरोना भाइरस संक्रमित संख्या आइतबारसम्म एक करोड एक लाख ८७ हजारभन्दा बढी पुगेको छ ।



विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ७३२ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ८७ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक कोभिड १९ को संक्रमित २० हजार भन्दा कम देखिएको हो ।

गत २४ मा भारतमा कोरोना संक्रमणका कारण २७९ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ६२२ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ६१ हजार ५३८ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ७८ हजार ६९० सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना संक्रमित २१ हजार ४३० जना कोरोनामुक्त भएका छन् ।

भारतमा महाराष्ट्रमा ५९ हजार २२३ र केरलामा ६३ हजार ९२७ सक्रिय संक्रमित रहेका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा ६ हजार ९११ जनामा कोरोना भाइरसका सक्रिय संक्रमित रहेका र ६ लाख ४ हनार ७४६ कोरोनामुक्त भएका छन् । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ४३७ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १६ करोड ८१ लाख २ हजार ६५७ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतमा शनिबार एक दिनमा ९ लाख ४३ हजार ३६८ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट