झापा- नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ ।
तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा प्रहरीले सो मूल्य बराबरको चाँदी तथा तामाका मूर्ति, भाँडाकुँडा र दियो बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्ति कागजले छोपिएको र प्लास्टिकमा लाहाको प्रयोग गरी ‘प्याक’ गरेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए ।
उनले बरामद भएका सबै सामग्री आजै भन्सार बुझाउने बताए । उनका अनुसार पक्राउ परेका मूर्तिहरु पुरातात्विक महत्व बोकेका नभए पनि लुकीछिपी अवैधरुपमा भारततर्फ लैजान लागेको हुँदा बरामद गरिएको हो ।