नवनियुक्त मन्त्रीहरूको योजनाः वैशाखमा निर्वाचन गराउनेदेखि कोरोनाको खोप ल्याउनेसम्म-Sutra News

नवनियुक्त मन्त्रीहरूको योजनाः वैशाखमा निर्वाचन गराउनेदेखि कोरोनाको खोप ल्याउनेसम्म

आइतबार, १२ पौस २०७७

आइतबार, १२ पौस २०७७

काठमाडौं- शुक्रबार नियुक्त भएका मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधीसभाको निर्वाचन गर्ने रहेको बताएका छन् । आइतबार आआफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका हुन् ।



ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउनको निम्ति आफू सरकारमा आउनुपरेको बताए । देशको राजनीतिक प्रणाली नै धरासयी भई अराजकतातर्फ जाने सम्भावना भएकोले देशको प्रणालीलाई बचाउनको निम्ति आफु मन्त्रीको रुपमा मन्त्रालयमा आउनुपरेको बताए ।

मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिनको लागि र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानु अनिवार्य आवश्यकता रहेको बताए । यस्तै मन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।

शहरी विकास मन्त्री प्रभु साहले पनि सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताएका छन् । शहरी विकास मन्त्रालयले निर्वाचन केन्द्रीत काम गर्ने उनको भनाइ छ ।

यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने मन्त्री साहले बताए । सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको भनाइ छ ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताए । उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताए । मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका हुन् ।

राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दापनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताए ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । यस्तै कुनै पनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए । खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत उनको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि ऊर्जाशिल जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताएकी छिन् । कोभिडका कारण विदेशबाट फर्किएका ऊर्जाशिल जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउुनुपर्ने दायित्व मन्त्रालयको भएको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद् पुर्नगठन गरेका थिए । केही नयाँ मन्त्री नियुक्त भएका छन् भने केहीलाई मन्त्रालय हेरफेर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट