काठमाडाैं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आन्तरिक कलह मिलाउन नसकेको रिसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको बताएका छन् । साेमबार नयाँ बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभालाई सम्बाेधन गर्दै नेता सिंहले साे कुरा बताएका हुन् ।
‘नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे,’ सिंहले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आँटसमेत नगरेको सिंहको भनाइ छ ।
‘प्रधानमन्त्री ओली बढो क्रान्तिकारी जस्तो देखिएर जनताको म्यान्डेट लिन गइरहेको छु भन्छन् । म जस्तो प्रजातान्त्रिक को छ भन्छन्,’ सिंहले भने, ‘जनप्रतिनिधिबाट विश्वासको मतसमेत लिन सक्ने आँट छैन। अनि दुई तिहाइ मतको प्रधानमन्त्री भनेर मात्रै हुन्छ ?’
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले जस्तै दुई तिहाइको मतको कुरा प्रधानमन्त्री ओलीले गर्ने गरेको सिंहले बताए । ‘दुई तिहाइ जनताले प्रत्यक्ष निर्वाचित गरी प्रधानमन्त्री बनाएकोजस्तो पो गर्छन्,’ उनले भने, ‘विश्वासको मत लिन सक्ने प्रावधान छ। तर प्रधानमन्त्रीले सहास देखाउन सकेनन् ।’
उनले कम्युनिस्टले सरकारले नागरिकको हक एक–एक गरेर खोस्दै गएको आरोप लगाए । सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको चिरहरण भएको टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारे ।
‘संसदको चुनावका बेला कम्युनिस्ट सरकारले जनवादी केन्द्रीयता लाद्छ भनेर हामीले भनेका थियौं,’ उनले भने, ‘त्यत्तिबेला यो कुुरालाई गम्भीरतापूर्वक नलिँदा अहिले यो अवस्था आयो ।’ उनले संसद विघटन गर्ने अवैधानिक कदम विरुद्ध कांग्रेलेले सशक्त विरोध जारी राख्ने स्पष्ट पारे । उनले सबै नागरिक अधिकारका लागि एकजुट हुनुपर्ने उल्लेख गरे ।