काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आन्तरिक कलह मिलाउन नसकेको रिसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको बताएका छन् । साेमबार नयाँ बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभालाई सम्बाेधन गर्दै नेता सिंहले साे कुरा बताएका हुन् ।
‘नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे,’ सिंहले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने आँटसमेत नगरेको सिंहको भनाइ छ ।
‘प्रधानमन्त्री ओली बढो क्रान्तिकारी जस्तो देखिएर जनताको म्यान्डेट लिन गइरहेको छु भन्छन् । म जस्तो प्रजातान्त्रिक को छ भन्छन्,’ सिंहले भने, ‘जनप्रतिनिधिबाट विश्वासको मतसमेत लिन सक्ने आँट छैन। अनि दुई तिहाइ मतको प्रधानमन्त्री भनेर मात्रै हुन्छ ?’
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले जस्तै दुई तिहाइको मतको कुरा प्रधानमन्त्री ओलीले गर्ने गरेको सिंहले बताए । ‘दुई तिहाइ जनताले प्रत्यक्ष निर्वाचित गरी प्रधानमन्त्री बनाएकोजस्तो पो गर्छन्,’ उनले भने, ‘विश्वासको मत लिन सक्ने प्रावधान छ। तर प्रधानमन्त्रीले सहास देखाउन सकेनन् ।’
उनले कम्युनिस्टले सरकारले नागरिकको हक एक-एक गरेर खोस्दै गएको आरोप लगाए । सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको चिरहरण भएको टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारे ।
‘संसदको चुनावका बेला कम्युनिस्ट सरकारले जनवादी केन्द्रीयता लाद्छ भनेर हामीले भनेका थियौं,’ उनले भने, ‘त्यत्तिबेला यो कुुरालाई गम्भीरतापूर्वक नलिँदा अहिले यो अवस्था आयो ।’ उनले संसद विघटन गर्ने अवैधानिक कदम विरुद्ध कांग्रेलेले सशक्त विरोध जारी राख्ने स्पष्ट पारे । उनले सबै नागरिक अधिकारका लागि एकजुट हुनुपर्ने उल्लेख गरे ।
कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको संरक्षक भएर बस्न सुझाएकी छिन् । मोरङ क्षेत्र नम्बर ६ मा भएको प्रदर्शनसभालाई सम्बोधन गर्दै नेतृ डा.संग्रौलाले भनिन्, ‘तपाईं संविधानको संरक्षक भएर बस्नुस् । संविधानको सीमाभित्र बस्नुस् । संविधानको सीमाभित्र नबस्ने राष्ट्रपतिलाई राष्ट्रपति भन्न नेपाली जनताले दिने छैनन् ।’
त्यसैगरी नेतृ डा.संग्रौलाले केपी शर्मा ओली सरकारको अधिनायकवादी कदमको लालमोहर नबन्न पनि राष्ट्रपतिलाई आग्रह गरेकी छिन् । उनले भनिन्, ‘केपी शर्मा ओली सरकारको अधिनायकवादी कदमको लालमोहर नबन्न म हार्दिक अपिल गर्दछु ।’
त्यसैगरी कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिस्ट सरकारले नेपालको राष्ट्रियतालाई छिया-छिया बनाएको आरोप लगाए । महतले नेपाल अहिले शक्ति राष्ट्रको क्रिडास्थल बनेको उल्लेख गरे ।
‘राष्ट्रियता कम्युनिस्टले मात्र बचाउन सक्छ भन्ने प्रधानमन्त्री ओलीको अहिले विदेशीसँग उठबस बढेको छ,’ उनले भने, ‘यो सरकार जनतातर्फ फर्केर राष्ट्रियताको कुरा गर्छ तर, नेपालको बोल्नुपर्ने ठाउँमा बोल्दैन ।’
उनले कम्युनिस्टले गरेका बद्मासीको भण्डाफोर गर्नुपर्ने औंल्याए । ‘कोभिडको महामारीमा भ्रष्टाचार सोच्नु पनि महापाप हो, उनले भने, ‘तर, कम्यनिस्ट सरकारले भ्रष्टाचार गरेरै देखायो । जनताको पीरमर्कामा कतै नदेखिने सरकार कमिसनमा अग्रपंक्तिमा हुन्छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । तनहुँमा आज सरकारविरूद्ध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । ‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिच्ने र लोकतन्त्र तथा संविधानमाथि नै प्रहार गरेका छन्,’ उनले भने, ‘संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था छैन ।’
नेता मिनेन्द्र रिजालले प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र लोकतन्त्रको रक्षा हुने बताएका छन् । झापाको क्षेत्र नम्बर ५ मा आयोजित विरोधसभामा बोल्दै नेता रिजालले ओलीको कदम गलत भएको बताए । ‘नेपाली कांग्रेसले बनाएको संविधान र लोकतन्त्रको रक्षा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्रै हुन्छ,’ रिजालले भने, ‘हाम्रो पहिलो एजेण्डा भनेकै संसद पुनर्स्थापना हो ।’
उनले संसद् पुनर्स्थापनाका लागि देशभर सशक्त आन्दोलनको गर्ने बताए । ‘संसद्को पुनर्स्थापना हुनुपर्छ । त्यसका लागि सशक्त विरोध गरौँ,’ उनले भने । ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसलाई सर्वोच्च अदालतले न्याय दिने उनले विश्वास व्यक्त गरे ।
कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संविधान जारी गर्नेहरूले नै संविधान बचाउने कर्तव्य निभाउनुपर्ने बताएका छन् । ‘बिपी कोइरालादेखि अहिलेसम्मको संघर्षबाट झन्डै–झन्डै ७२ वर्षपछि हामीले पाएको उपलब्धि यो संविधान हो, यो जारी गर्ने हामी हौँ, र यसलाई बचाउने कर्तव्य पनि हाम्रो हुन आउँछ,’ उनले भने ।
कांग्रेस नवलपुर क्षेत्र नं. १ ले गरेको विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारले संविधानमाथि कुठाराघात गरेको बताए ।
‘यो अलोकतान्त्रिक छ, संविधानविरोधी छ, हामीले संविधानको रक्षाका लागि यो विरोध गरेका हौँ,’ उनले भने । महामन्त्री कोइरालाले सरकारले चुनाव घोषणा गरिसके पनि अहिल्यै चुनाव हुन्छ भन्ने विश्वास नरहेको बताए । ‘सरकारले चुनाव गर्दैन जस्तो लाग्छ, तर हामी दबाब दिन्छौँ,’ उनले भने, ‘आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउनुस्, भविष्य कांग्रेससँग राम्रो छ, कांग्रेसले मात्र यो देशमा परिवर्तन ल्याउन सक्छ ।’