अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौँः नेता पौडेल-Sutra News

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौँः नेता पौडेल

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।



वरिष्ठ नेता पौडेलले भने, ‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।’ मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनकाे जिकिर थियो ।

नेपाल कम्युनिस्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ’, उनले भने, ‘संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।’

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताए । प्रतिनिधिसभा विघटनको विरोध गर्दै कांग्रेस तनहुँले आज दुई निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । तनहुँ-१ को दमौली र २ को भीमादमा भएको सभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट