ओलीले एक वर्षदेखि पार्टी फुटाउन खोजेका थिए: प्रचण्ड-Sutra News

ओलीले एक वर्षदेखि पार्टी फुटाउन खोजेका थिए: प्रचण्ड

मंगलबार, १४ पौस २०७७

मंगलबार, १४ पौस २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले कल्पना पनि नगरेको बताएका छन् ।



उक्त समूहले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तीन वर्षमै यो दिन देख्नुपर्ला भनेर सोचेको थिइनँ ।’ थप स्पष्ट पार्दै प्रचण्डले भने, ‘म आफैँ पार्टी एकताको प्रस्ताव लिएर केपी ओलीकहाँ पुग्दा सोचेको थिइनँ– तीन वर्षपछि तिनै ओलीविरुद्ध सडकमा आउनुपर्छ भनेर । अहिले हामी सडकमा छौं ।’

ओली लोकतन्त्रवादी नभई निरंकुश भएकोले देशलाई भड्खालोमा हाल्न उद्यत रहेको आरोप प्रचण्डले लगाए । बाम एकतालाई जनताकाे दुई तिहाइ जनमतले अनुमोदन गरे पनि ओलीले संविधानमाथि निर्मम प्रहार गरेको प्रचण्डले बताए । संसद् भंग नभएको दाबी गर्दै प्रचण्डले बरु केपी ओलीको सरकार भंग भएको तर्क गरे । ओलीले आफैंले बनाएको संविधानमाथि बलात्कार गरेको पनि उनले बताए ।

प्रचण्डले आफूले ओली सच्चिए भनेर विश्वास गरेको बताए । ‘मलाई थाहा थियो, उहाँ गणतन्त्रको पक्षमा हुनुहुन्थेन, उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो । उहाँ माक्र्सवादी होइन भन्ने आम जनतालाई पनि थाहा छ । उहाँ संघीयता, धर्मनिरपेक्षका पक्षमा हुनुहुन्थेन भन्ने मलाई थाहा थियो’, प्रचण्डले भने, ‘आँधीहुरी आयो अनि संघीय गणतन्त्रलाई मानिदिनु पर्याे भन्नुहुन्थ्यो । तर, उहाँ बयलगाढामै हुनुहुँदो रहेछ । संघीयता, धर्मनिरपेक्षता विरोधी नै हुनुहुँदो रहेछ । म क्षमा माग्छु, उनी सच्चिए भनेको त सच्चिएका रहेनछन् ।’

प्रचण्डले प्रधानमन्त्री ओलीले एक वर्षदेखि पार्टी फुटाउन खोजेको पनि बताएका छन् । ‘ओलीले पार्टी फोर्न चाहेको एक साल (वर्ष) देखि हो,’ उनले भने, ‘जब हामीले पार्टी विधि विधान र मान्यताअनुसार चल्नुपर्छ । बैठक गर्नुपर्छ भन्यौं त्यसै बेलादेखि ।’ 

उनले प्रधानमन्त्री ओली बैठक बस्न नमान्ने र आलोचना सुन्न नसक्ने पनि बताएका छन् । ‘बैठक बस्ने भनेपछि उहाँको सातो जाने । साथीहरूले आलोचना गरे भने उठेर हिड्ने सुन्नै नसक्ने,’ उनले भने, ‘मैले सचिवालयमा बोल्न खोज्दा बोल्न दिइएन । तपाईं बोल्न पाउनु हुन्न भन्नुभयो । ओलीले जे मनलाग्यो बोल्ने मैलेचाहिँ जवाफ दिन नपाउने ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट