कास्की- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए ।
प्रतिनिधिसभा भङ्ग भएपछि अन्तरराष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको जनाउँदै पूर्वसभामुख पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट गरे ।
निर्वाचनमा गए कांग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने जिकिर उनले गरे । कांग्रेस निर्वाचनसँग नडराएको जनाउँदै उनले विधि र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र सरकारसँग पनि लड्ने बताए ।
वाम गठबन्धनलाई पाँच वर्षसम्म सरकार चलाउन जनादेश दिइएकामा पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भंग गरिएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नपाइने बताए ।