सभापोखरी गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास-Sutra News

सभापोखरी गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास

आइतबार, १९ पौस २०७७

आइतबार, १९ पौस २०७७

संखुवासभा- संखुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो । केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्याउन देशभर अस्पताल निर्माण तीव्र बनाएको छ ।



शनिबार एक कार्यक्रमका बीच सभापोखरी गाउँपालिका–२ बगैँचामा पाँच शय्या क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष रत्न सुब्बाले यो क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता चाँडै हट्ने बताए । अध्यक्ष सुब्बाले भने, ‘अब आफ्नै गाउँमा अस्पताल बनेपछि यहाँका नागरिकले सदरमुकाम खाँदबारी र अन्य जिल्ला जानुपर्ने बाध्यता हट्यो ।’

केन्द्रीय सरकारको नीतिअनुसार गत मंसिर १५ गते शिलान्यास हुनुपर्ने भए पनि प्राविधिक कारणले सभापोखरी गाउँपालिकामा आधारभूत अस्पताल शिलान्यास गर्न ढिला भएको बताइएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता दाहालले अस्पतालबाट ११ हजारभन्दा बढी नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने बताए । गाउँमै सुविधासम्पन्न अस्पताल बन्ने भएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । त्यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा निजी स्वास्थ्य संस्था तथा सदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता थियो ।

सभापोखरीमा रु सात करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माण हुनेछ । संखुवासभाको खाँदबारी, पाँचखपन, धर्मदेवी, चैनपुर नगरपालिका र चिचिला गाउँपालिकामा केन्द्रीय सरकारको नीतिअनुसार नै गत मंसिर १५ गते अस्पताल शिलान्यास भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट