भाषणबाटै विरोधीको ‘ढाड खुस्काउने’ प्रधानमन्त्रीलाई काम गर्न के ले छेक्यो ?-Sutra News

भाषणबाटै विरोधीको ‘ढाड खुस्काउने’ प्रधानमन्त्रीलाई काम गर्न के ले छेक्यो ?

आइतबार, १९ पौस २०७७

आइतबार, १९ पौस २०७७

शनिवार प्रज्ञा प्रतिष्ठानको भवनमा आफ्ना नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरूलाई दर्जन बढी ठट्टा, उखानटुक्का र कटाक्ष प्रयोग गरे । भर्खर विभाजन भएको पार्टीको अर्को पक्ष (प्रचण्ड-नेपाल)लाई ओलीले भित्तैमा पुग्ने गरी चर्को आक्षेप लगाएका थिए ।



उनले आफूलाई काम गर्न नदिएको भन्दै संविधानले दिएको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्न छुटाएनन् । यद्यपि संविधानमा संसद विघटन बहुमतप्राप्त प्रधानमन्त्रीको विशेषाधिकार हो भनेर कहीं उल्लेख छैन ।

विश्वासको मत लिन नसकेको अल्पमतको सरकारलाई मात्र संसद विघटन गर्न पाउने छुट संविधानले दिएको छ । पुस ५ गते संसदको हठात् विघटन गरिएको थियो । त्यसपछि यो विषयले अदालतमा प्रवेश पाएको छ ।

के भनेका थिए प्रधानमन्त्रीले ?

ओलीले आफूहरू छोरीबुहारीका हामी नलडेको दाबी गरे । उनले प्रचण्डप्रति घुमाउरो संकेत गर्दै आफू छोरी बुहारीका लागि राजनीति नगरेको बताएका हुन् । ‘हाम्रो उद्देश्य संकीर्ण, व्यक्तिगत वा पारिवारिक होइन, हामी छोरीबुहारीका लागि लडेका छैनौं,’ उनले भनेका थिए, ‘देश र जनताका लागि लडेका छौं ।’

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल विभाजित भएर अर्कोतिर लागेको भन्दै ओलीले दुवै नेतालाई ‘खिया लागेका दुई नटबोल्ट’ भनी कटाक्ष गरे । ‘दुई वटा खिया लागेका नटबोल्ट फेर्दा पार्टीको गाडी गतिका साथ अघि बढ्यो । हामीले फेरेको पनि होइन । आफै फुक्लिएको हो,’ ओलीले यसो भन्दा त्यहाँ उपस्थित नेता कार्याकर्ताले चर्को हुटिंग गरेका थिए ।

ओलीले असली र नक्कली नेकपा को हो भन्ने सन्दर्भमा पूर्वको ‘बरमझिया बुढाको पेडा पसल’को प्रसंग उप्काए ।

‘अर्को पक्षले पार्टी फुट्यो भनेर कराउँदै निर्वाचन आयोगमा हामी असली हौँ भनेर लेखेको निवेदन मैले पाएँ,’ उनले भने, ‘यो बरमझियाको बुढाको पेडा पसल हो ? असली र नक्कली ? असली बुढो मै हुँ, असली बुढो मै हुँ भनेर पेडा पसल अघि लेखेर टाँस्न मिल्ने हो ?’

ओलीले आफू नै असली नेकपा भएको दाबी गर्ने गरेपनि यो विषय निर्वाचन आयोगमा विचाराधीन छ ।

ओलीले प्रचण्ड र नेपाललाई भेट्नो कुहिएर झरेका दुई वटा फलको संज्ञा दिँदै उनीहरूले आफैं रुख हौँ भनेर दाबी गरेको बताए । ‘भेट्नो कुहिएर झरेका दुई वटा फलहरुले रुखै मै हुँ भनेर दाबी गर्ने ?’ उनले प्रश्न गरे, ‘हामीले बैठकमा आउनुस भनिरहेका छौं, प्रचण्ड अझै पनि अध्यक्ष नै हुन् । माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि वरिष्ठ नेताहरुमा राखिएको छ । अरु पनि केही साथीहरु हाम्रो बैठकमा आउनु भएको छैन ।’

ओलीले प्रचण्ड-नेपाल पक्षले जति मान्छे जम्मा गरेका छन्, त्यति मान्छे रत्नपार्कमा औषधि बेच्दै हिंड्नेले पनि जम्मा गर्न सक्ने भन्दै मजाक उडाए । ‘अलिअलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बिक्री गर्न बस्नेले पनि जम्मा गर्छ । उहाँहरुको हालत त्यो भन्दा बढी हुने छैन । टाउको दुखेको, पेट दुखेको, गानोगोला भएको, जुकाम, खाँसी, पिनास परेको, गलेका खसखस सबैको औषधि बिक्री गर्न अब उहाँहरुले रत्नपार्कमा मान्छे जम्मा गरे हुन्छ,’ ओलीले भने ।

यति मात्र होइन, ओलीले आफ्नो घर आएका पाहुनाले आफैंलाई निकाल्न खोजेको, भारतका हरेक मान्छेलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको, अदालतले जुँगा, कपाल र कुम हेरेर निर्णय नगर्ने प्रसंग, केटाकेटीले खेलौना लिएझैँ प्रचण्डले पार्टी कब्जा गर्न खोजेको प्रसंग, बैंकको खातामा रहेको रकम झ्वाम्म पार्दै हिंडेको प्रसंग ल्याएर आफ्ना विरोधीहरूलाई ‘थला’ पार्ने काम गरे ।

बोलेर ढाड खुस्काउने, काम भने शून्य !

उक्त भेलामा सहभागी हुन आएका एक विद्यार्थीले ओलीमाथि कटाक्ष गर्दै भने, ‘बुढाको भाषणको फ्यान हुँ म । तर काम भने खासै गर्न सकेका छैनन् ।’ उनले ओलीको भाषणमा बेलाबेलामा चर्को हुटिंग गर्ने गर्दथे । ओलीले सम्बोधनका क्रममा विश्व चकित हुने गरी नेपालमा विकासको काम भइरहेको दाबी गरेका थिए । तर ओलीले गरेको भाषण र तथ्यांक मिल्दैन ।

उनले चामत्कारिक ढंगले सडकहरू निर्माण भइरहेको, हुलाकी राजमार्ग बनेको, केरुङ-काठमाडौँ रेल बनिरहेको, विभिन्न ठाउँमा एकीकृत जाँच चौकीहरू संचालनमा रहेको, नागढुंगामा सुरुङमार्ग बनेको, बुटवल-नारायणगढमा ६ लेनको बाटो बनिरहेको जस्ता धेरै दाबी गरे । तर कतिपय आयोजनाहरूको काम २ प्रतिशत पनि भएको छैन भने कतिपय आयोजनाहरू धेरै पहिलादेखि संचालनमा रहेका छन् ।

तर देशको पछिल्लो आर्थिक अवस्था हेर्ने हो भने अर्थतन्त्र नै कोलाप्स हुने बाटोमा अघि बढिरहेको भन्दै कतिपय अर्थविदहरू चिन्ता प्रकट गर्ने गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएका हजारौं जनता अहिले पनि बेरोजगार नै छन् । सामान्य स्वास्थ्य उपचार नपाएर अकालमै पछिल्ला केही महिनामा सयौंले मृत्युवरण गरेको तथ्यांक हामीसामू नै छन् । नेकपाले चुनावमा गरेको प्रतिबद्धताअनुसारका ८० प्रतिशत भन्दा बढी काम भएका छैनन् ।

नेपाललाई दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाउने चुनावी घोषणापत्रमा उल्लेख थियो । तर अहिले पनि अर्बौंको खाद्य सामग्रीको आयात हुने गर्छ । त्यस्तै ३ वर्षभित्रमा नेपालमा विद्युतीय सवारी साधनयुक्त बनाउने घोषणा पनि कहाँ पुग्यो, त्यो थाहा छैन । तीन वर्षमा पूर्व पश्चिम रेल चलाउने घोषणापत्रमा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट