कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन-Sutra News

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

आइतबार, १९ पौस २०७७

आइतबार, १९ पौस २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।



संघअन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल संख्या (२० देशका ) ३१५ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो ।

समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाटमुक्त भएका छन् ।

अगामी अप्रिल अन्त्यसम्म नेपालमा खोप आउने

हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्यसमितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउनसक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।

बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकीमूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ । भारतसहित बेलायत, युरोपेलि मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट