काठमाडौं- भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ ।
भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गतेबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो ।
प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आज प्रतिकिलो रु ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ ।
यसअघि पुस १५ गते प्रतिकिलो रु ६० देखि ७० मा कारोबार भइरहेको थियो । यसैगरी पुस १० गते प्रतिकिलो रु ७० देखि ८० सम्म कारोबार भएको थियो ।
कालीमाटीको तथ्याङ्कअनुसार प्रतिबन्धमा समेत विभिन्न नाका हुँदै पर्याप्त मात्रामा प्याज आयात भएको पाइएको छ ।
प्रतिबन्धको शुरुआती दिनमा प्याज आयातमा केही कमी आए पनि पछिल्ला दिनहरुमा पर्याप्त मात्रामा आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
उनका अनुसार गत असोज महिनामा मात्र ७७६ मेट्रिक टन प्याज आयात भएको थियो । भदौको अन्तिम साता प्रतिबन्ध लगाए पनि असोजमा उल्लेख्य मात्रामा प्याज भित्रिएको तथ्यांक छ ।