लापरबाही गर्ने वायु सेवा निगमका कर्मचारी कारबाहीमा-Sutra News

लापरबाही गर्ने वायु सेवा निगमका कर्मचारी कारबाहीमा

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडाैं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरबाही गर्ने मलेसिया स्टेसनका कर्मचारीलाई कारबाही गरेको छ । निगमको मलेसियास्थित स्टेसनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरबाही भएका कारण निगमको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको कोरोना रिपोर्ट पाेजिटिभ पाइएपछि निगमले मलेसिया स्टेसनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।



गत ३० डिसेम्बरमा मलेसियाबाट काठमाडौं आएको निगमको उडान नं ४०१६ जहाज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पीसीआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजिटिभ रिपोर्ट लिएर आएको फेला परेपछि विमानस्थलमा हल्लाखल्ला भएको थियो ।

निगमको न्यारोबडी ए ३२० जहाजमा १४५ यात्रु आएका थिए । ती पोजिटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वारेन्टाइनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो । सो घटनामा निगमको मलेसिया स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेसन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर ईन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नआएपछि उनीहरूलाई फिर्ता बोलाउनुका साथै होटल क्वारेन्टाइनमा बस्ने यात्रुको सम्पूर्ण खर्च दामासायीले असुल उपर गर्ने गरी कारबाही गरेको हो ।

निगमको आन्तरिक तथा बाह्य स्टेसनका लागि खट्ने जनशक्तिको व्यवस्था गर्न गठित पोष्टिङ कमिटीले स्पष्टीकरण सोेधेको थियो । यो कमिटी महाप्रबन्धकको संयोजकत्वमा मानव संशाधन विभागका उपनिर्देशक, अर्थ विभागका निर्देशकसहित छ सदस्यीय स्थायी प्रकृतिको हुन्छ ।

कमिटीको १७ पुसको बैठकले कोभिड पाेजिटिभ भएका यात्रु आउनुमा निगमका स्टेसनमा खटिएका कर्मचारीको गम्भीर लापरबाही देखिएको भन्दै यसले निगमको साख मात्र नभई देशकै प्रतिष्ठासँग जोडिएकाले कारबाही गर्नुपरेको निगमले उल्लेख गरेको छ ।

यात्रुको खर्च तीन जनाले बेहोर्नुपरे पनि आर्थिक म्यानेजर थापालाई भने फिर्ता बोलाइएको छैन । बाँकी दुई जनालाई नेपाल बोलाइएको छ । मलेसियाको क्वालालम्पुर एयरपोर्टमा निगमको ग्राउण्ड ह्याण्डलिङ एजेन्ट (जीएचए) लाई पनि स्पष्टीकरण सोधिएको निगमले जनाएको छ । 

सो घटना निगमको उडान इतिहासमा पहिलो भएको र सुशासन प्रवर्द्धनका निम्ति पहिलो पटक स्टेसनका कर्मचारीलाई कारबाही गर्नुपरेको पनि निगमले जनाएको छ ।

यसअघि निगमभित्र विभिन्न विषयमा कर्मचारीले गल्ती गरेपनि समिति बनाएर छुट दिने गरिएकामा यस पटक भने कारबाही गरेर आगामी दिनमा अन्य कर्मचारीबाट पनि गल्ती नहोस् भन्ने उदाहरणीय कार्य व्यवस्थापनले गरेको निगमको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट