प्रधानमन्त्रीको कदमविरुद्ध सबै राजनीतिक दल एक भएर सडक संघर्षमा उत्रिनुपर्छ: माधव नेपाल-Sutra News

प्रधानमन्त्रीको कदमविरुद्ध सबै राजनीतिक दल एक भएर सडक संघर्षमा उत्रिनुपर्छ: माधव नेपाल

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडाैं- प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक दल एक भएर सडक संघर्षमा उत्रिनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले साे कुरा बताएका हुन् । 



उनले प्रतिनिधिसभाको हत्या गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले घाँटी अठ्याएर बसेको बताए । उनले असंवैधानिक कदमविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत एकतावद्ध भएको बताए ।

‘केपी शर्मा ओलीजीबाट जुन असंवैधानिक कदम चालिएको छ, प्रतिनिधि सभाको हत्या गर्न खोजिएको छ उहाँ प्रतिनिधि सभाको घाँटी अठ्याएको अठ्यायै हुनुहुन्छ’, उनले भने, ‘यसका विरुद्धमा सिंगो राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत एकतावद्ध छ ।’ उनले संविधान मिच्ने काम गरेका कारण ओलीलाई पार्टी अध्यक्षबाट हटाएर वैधानिक रुपमा दुई तिहाइ केन्द्रीय सदस्यले आफूलाई अध्यक्ष चयन गरेको बताए ।

‘एक जना अध्यक्ष हुनुहुन्थ्यो, उहाँले संविधान मिच्ने काम गर्नुभयो, लोकतन्त्रमाथि धावा बोल्ने काम गर्नुभयो, निरकुंश र स्वच्छाचारी शासकको चरित्र देखाउनुभयो, त्यसबापत पार्टीले उहाँलाई अनुशासनको कारवाही गरेर अध्यक्षबाट हटाइसकेको छ र वैधानिक रुपमा दुईतिहाई केन्द्रिय सदस्यको समर्थनमा मलाई पार्टीको अध्यक्ष बनाइसकेको छ’, अध्यक्ष नेपालले भने, ‘अब कुनै द्विविधा छैन, उहाँलाई माया छ भने नेकपा ओली गुट राखे हुन्छ ।’

उनले ओली संघीयता, गणतन्त्र र समावेशिताको पक्षमा नभएको आरोप लगाए । ‘उहाँलाई लोकतन्त्र मात्र होइन गणतन्त्र मन परेको छैन, उहाँ गणतन्त्र, संघीयता समावेशिता प्रेमी होइन’, उनले भने, ‘तर विडम्बना उहाँ अध्यक्ष पदमा आशीन हुनुभयो, हामी सबै टुलुटुलु हेर्न विवश भयौं ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट