काठमाडौं- कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन हुँदा कांग्रेसलाई फाइदा भयो भनेर सोच्न नहुने बताएका छन् । जनता समाजवादी पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।
प्रतिनिधिसभा विघटनको घटनाले सुरुमा प्रतिपक्षी दल कांग्रेसमा तरंग आएको भन्दै नेता पौडेलले कांग्रेसले पार्टीको फाइदा भन्दा देशको फाइदका विषयमा सोचेको बताए । ‘हामीलाई फाइदा भयो कि, बेफाइदा भयो कि ? राजनीतिक रुपमा के भयो, पार्टीगत रुपमा के भयो ? यस्तो सोच्ने विचार गर्ने बेला होइन यो’, नेता पौडेलले पार्टीभित्र राखेको कुरा स्मरण गर्दै भने , ‘मूल कुरा राष्ट्र, व्यवस्था, लोकतन्त्र र संविधानमा के भयो भन्ने सोच्ने बेला हो ।’
उनले पद, सांसद फेरि पनि पाइने बताउँदै उनले हारेको सांसद भएका कारण नयाँ निर्वाचन आफ्ना लागि पनि अवसर हुने भएको भए पनि आफूले देश, जनता र संविधानका पक्षमा सोचेर यसको विपक्षमा उभिएको बताए ।
‘पद, सांसद फेरि पनि पाइन्छ । म पनि हारेको सांसद हुँ, हराइएको सांसद हुँ’, नेता पौडेलले भने, ‘मैले पनि मौका पाउँथें, अहिले जाँदा त जित्थे होला ।’
उनले आफ्नो नभइ देश, लोकतन्त्र र जनताको हितलाई सोच्न आग्रह गरे । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनले यसलाई संवैधानिक बनाउनु पर्ने बताए । नेता पौडेलले प्रधानमन्त्री ओलीको कदमलाई राष्ट्रपतिले आँखा चिम्लेर समर्थन गरेको भन्दै अदालतले उक्त कदम सच्याउनु पर्ने बताए।