टोखाले ३ हजार व्यक्तिको ‘एन्टीजिन परीक्षण’ गर्ने-Sutra News

टोखाले ३ हजार व्यक्तिको ‘एन्टीजिन परीक्षण’ गर्ने

मंगलबार, २१ पौस २०७७

मंगलबार, २१ पौस २०७७

काठमाडौं- टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा आगामी हप्ता तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्न लागेको हो ।



स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीसँग बसेको बैठकले आगामी आइतबारदेखि ‘एन्टीजिन परीक्षण’ सुरु गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । बढी भीडभाड हुने क्षेत्रमा गर्न लागिएको परीक्षणको नतिजा आधा घण्टाभित्रै आउनेछ । एकैपटक ५०० भन्दा बढी व्यक्तिलाई ‘एन्टीजिन परीक्षण’ गर्न सकिने नगरपालिकाले जनाएको छ । ‘एन्टीजिन परीक्षण’का लागि पनि कोभिड–१९ को परीक्षण जस्तै स्वाब संकलन गरिने प्रवक्ता बस्यालले बताए ।

‘एन्टीजिन परिक्षण’ कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर परीक्षणभन्दा सस्तो हुने नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाले हालसम्म ६ हजार ७२२ जनाको कोभिड–१९ को परीक्षण सम्पन्न गरिसकेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

काठमाडौं महानगरपछि सबैभन्दा धेरै संक्रमित टोखामा रहेका छन् । उक्त नगरपालिकामा हालसम्म तीन हजार ७५२ संक्रमित भइसकेका छन् । संक्रमिततमध्ये ९७.२८ प्रतिशत निको भएको टोखा नगरपालिकाले जनाएको छ । यस्तै टोखामा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै टोखामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ५४ श्यया छुट्याएर कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको छ । जसमा हालसम्म ४२३ संक्रमितले उपचार पाइसकेको अस्पतालका सहनिर्देशक डा.विनोद बिजुक्छेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट