काठमाडाैं- प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु भैरहँदा नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङलाई सम्झिरहेको बताएका छन् । संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको आरोप छ ।
यस्तो संकटका बेला तत्कालीन संविधानसभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै जमेर बहस गर्नुपर्ने थापा बताउँछन् । ‘मलाई लागेको थियो, यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्लान्,’ थापाले बुधबार बिहान ट्विट गरेका छन् ।
तत्कालिन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङको निरिहता देखेर दया लागेको थापाले बताए । आफ्नो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान नलेखिएकै भन्न डराउने नेम्वाङलाई सन्दर्भसहित जमेर बहस गर्न थापाको आग्रह छ ।
‘अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ । प्रश्नबाट भाग्नुभएको छ । आफैंले बनाएको संविधानमा ‘कू’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ,’ थापाले लेखेका छन् । अन्त्यमा थापाले संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ(१/४)
— Gagan Thapa (@thapagk) January 6, 2021