ड्रागन फ्रुटको १० बोटबाट ५० हजार आम्दानी-Sutra News

ड्रागन फ्रुटको १० बोटबाट ५० हजार आम्दानी

बुधबार, २२ पौस २०७७

बुधबार, २२ पौस २०७७

बाँके- बाँकेको खजुरा गाँउपालिका वडा नं.४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । ६ वर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फर्किएका मगरले मलेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारीमा खेती सुरु गरेका हुन् ।



बाँकेको खजुरा गाउँपालिका वडा नं.४ का तिलक सिरिस मगरले ६ वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसे । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गरेका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती सुरु गरेका छन् ।

सुरुमा एउटा बोटबाट खेती सुरु गरेका मगरको बारिमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको बताए ।

ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छिन् । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताइन् । अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले बिक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको बिरुवा लगाएको पनि थापाले बताइन् ।

स्वास्थ्यको लागि लाभदायक भएकोले गाउँपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए ।

पालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषितर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट