खोटाङ- महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साँढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मंसिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट पाँच लाख ६४ हजार २९० भेटी संकलन भएको हो ।
गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मंसिर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो संख्या भेटी संकलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट तीन लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट रु २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट रु १४ हजार ७० भेटी संकलन भएको छ ।
गत चैत ६ गतेदेखि पुस ८ गतेकाबीचमा मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा एक लाख ८९ हजार ९९० भेटी संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै, १०६.५० ग्राम चाँदी र १।३ ग्राम सुन संकलन भएको सूचना केन्द्रले जनाएको छ ।
त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकम सहित सुन ११.५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ । हलेसीमा अहिले दैनिक सयौँको संख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टंक राईले जानकारी दिए ।