क्रोएसियाका राष्ट्रपति र मन्त्रीहरूले लगाए कोरोनाको खोप-Sutra News

क्रोएसियाका राष्ट्रपति र मन्त्रीहरूले लगाए कोरोनाको खोप

बिहिबार, २३ पौस २०७७

बिहिबार, २३ पौस २०७७

क्रोएसिया- क्रोएसियाका राष्ट्रपति र मन्त्रीपरिषद्का अधिकांश सदस्यहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।



खोपप्रति आम नागरिकको विश्वास र आकर्षण बढाउनका लागि सार्वजनिक रूपमा उच्च पदाधिकारीहरूले खोप लगाएको जनाइएको छ । बिहीबार उनीहरूले खोप लगाएसँगै क्रोएसियामा कोरोनाविरुद्धको खोप लगाउने आम अभियान नै सुरु भएको छ । तर, खोप लगाउने क्रम भने डिसेम्बर २७ देखि नै सुरु भएको थियो ।

कुल ४२ लाख जनसंख्या रहेको मुुलुकमा तत्काल २० हजार जनालाई खोप दिने सरकारको योजना छ ।सबैलाई खोप दिन नसकिने भएकाले प्राथमिकता निर्धारण गरेर प्राथमिकता सूचीमा परेकाहरुलाई सुरुमा खोप दिइने भएको हो ।

सरकारले सुरुमा स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ बर्षभन्दा बढी उमेर भएकाहरुलाई खोप दिने नीति बनाएको अधिकारीहरुले जनाएका छन् । त्यस बाहेकका अन्य नागरिकलाई भने क्रमशः अरु चरणहरुमा खोप दिइने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्रोएसियामा फिजर बायोएनटेक खोप प्रयोग गरिएको छ । खोपका बारेमा गरिएको सर्वेक्षणका क्रममा ४४ प्रतिशतले खोप लगाउने रुची नदेखाएको पाइएको छ । त्यसैगरी ४६ प्रतिशतले खोप लगाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् भने दश प्रतिशतले खोप लगाउने वा नलगाउने बारेमा अनिर्णित अवस्थामा रहेको जनाएका छन् ।

‘सबै नागरिकले कोरोना विरुद्धको खोप लगाउन पाउनुपर्छ भन्नेमा म स्पष्ट छु, त्यसको व्यवस्था हुने विश्वास दिलाउन पनि चाहन्छु,’ राष्ट्रपति जोरान मिलानोभिकले भने ।

क्रोएसियाका प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक र अरु छ मन्त्री यसअघि नै कोरोना संक्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट