काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशका विभिन्न मुख्य शहरहरूमा प्रदर्शन र सभा गर्ने भएको छ ।
पुस २५ देखि माघ ७ सम्म जसपाले देशका मुख्य शहरहरूमा प्रदर्शन गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको हो ।
यसअघि पनि उसले विरोधका विभिन्न कार्यक्रम गरिसकेको छ । पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ । देशका मुख्य शहरहरूमा हुने कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जसपाले खटाएको छ ।
२५ पुसमा विराटनगर, धनगढी र भैरहवामा कार्यक्रम हुनेछ । पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादव विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन् । अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने जसपाले जानकारी दिएको छ ।
जसपाले माघ ७ गते सबै जिल्ला सदरमुकामलगायत मुख्य शहरहरूमा पनि प्रदर्शन र विरोध कार्यक्रम गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस, नेकपा प्रचण्ड-नेपाल समूह, नागरिक समाज, बुद्धिजीवीलगायतले प्रदर्शन गर्दै आएका छन् ।