संसद पुर्नस्थापना हुन्छ, केपी ओली घर जान्छन्: गगन थापा-Sutra News

संसद पुर्नस्थापना हुन्छ, केपी ओली घर जान्छन्: गगन थापा

शुक्रबार, २४ पौस २०७७

शुक्रबार, २४ पौस २०७७

काठमाडौं- कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोधसभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्षअघि संसद विघटनको कल्पनासमेत नगरिएको बताए ।



संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कहिँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए । संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाइने बताए ।

कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको नेता थापाको भनाइ छ । सर्वोच्चले संविधान पल्टाएर फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए ।

नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दवाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाइ छ । नेता थापाले अदालतले संसद पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट